(सम्पादकीय)
शिव ती हुन् जसलाई बुझ्न जति प्रयत्न गरे पनि, जति काव्य रचे पनि, जति भाव र अनुभूति गुथे पनि, पूर्ण रूपमा व्याख्या गर्न हामी असमर्थ छौँ। हामीले शिव र शक्तिको जुन गहिराइ अनुभूत गर्न सक्छौँ, त्यो शब्दको सीमाभन्दा परको अनुभूति हो। शिवलाई व्याख्या गर्न नसक्नु नै सबैभन्दा ठूलो सत्य हो, किनकि शिव व्याख्यामा होइन, अनुभूतिमा बस्ने नाम हो।
शिव छन्, तर परिभाषामा छैनन्। शक्ति छिन्, तर सीमामा छैनिन्।
दया, वैराग्य, प्रेम र अध्यात्मले परिपूर्ण चेतनामा सम्पूर्ण ब्रह्माण्ड विलीन छ। यही त्यही अवस्था हो, जहाँ सबै सीमाहरू मेटिन्छन्, सबै द्वन्द्व हराउँछन्। शक्ति भनेको प्रकृतिको मूर्त स्वरूप हो जसले सृष्टि गर्छ, पोषण गर्छ र विविधता बोकेर पनि एकताको सूत्रमा बाँध्छ। यही प्रकृतिले दिन रात, ज्ञान अज्ञान, उज्यालो अन्धकारको सन्तुलन रचेर जीवनलाई अर्थ दिन्छ। सायद अज्ञानता नहुँदो हो त ज्ञानको मूल्य पनि अनुभूत हुने थिएन।
“मसँग शब्द छैन, भाव छ।” यही भाव नै सबैभन्दा शुद्ध प्रार्थना हो। यही भावबाट साँचो बोधको उदय हुन्छ। मानव प्रकृतिकै अनुपम वरदान हो, तर अहंकारले मानिसलाई त्यही वरदानबाट विमुख गराउँछ। मानिस शिव र शक्तिको महिमा देख्न सक्दैन, किनकि उसको दृष्टि आफ्नै अहंको मोहले ढाकिएको हुन्छ। त्यो मोह पनि प्रकृतिकै अद्भुत सिर्जना हो अज्ञानताबाट जन्मिएको।
शिव र शक्तिले देख्न सकिने र नदेखिने, सुन्न सकिने र नसुन्न सकिने, बुझ्न सकिने र नबुझ्न सकिने वस्तु, ध्वनि र चेतनालाई सौन्दर्यको सन्तुलनमा सृष्टि गर्नुभयो। यो सृष्टि आफैँमा अलौकिक छ। प्रकृतिमा रहेका असंख्य स्रोत साधन, विविध जीवजन्तु, बोटबिरुवा र किट पतङ्ग, नयाँ सृष्टि र त्यसको संरक्षण सबै शक्तिकै अभिव्यक्ति हुन्। हिमालदेखि समुद्रसम्म र समुद्रदेखि पुनः हिमालतर्फ बग्ने पानीको यात्रा निर्जीव देखिए पनि जीवनले भरिएको छ। पृथ्वीलाई अँगालो हालेर रहेको प्राणदायक हावा, सूर्यको तेज, चन्द्रमाको शीतलता र सीमाहीन ब्रह्माण्ड यी सबै शक्तिका साक्ष्य हुन्।
हामीले आँखाले देख्ने संसार जति रहस्यमय छ, हाम्रो शरीर पनि त्यति नै चमत्कारपूर्ण छ। संसार देखाउने आँखा, जीवनदेखि मृत्युसम्म क्षणभर विश्राम नगरी रक्तसञ्चार गर्ने मुटु, सासको निरन्तरतासँग जीवनको अनुभूति दिलाउने फोक्सो, दिव्य मस्तिष्क र शरीरका प्रत्येक अङ्ग सबै अद्भुत छन्।
शिव र प्रकृतिले हामी सबैलाई रचेका हुन्। रचनाकारको सामु हामी शून्य जस्तै छौँ। तर यही पीडा, यही प्रश्न र यही भावनाले नै हामीलाई शिव र शक्तिको समीप पुर्याइरहेको हुन्छ। यो विमुखता होइन यो त अर्पणतर्फको पहिलो कदम हो।
प्रकृतिले मानवलाई जन्मसँगै चेतना प्रदान गर्यो। त्यही चेतनाको प्रयोग गर्दै मानवले प्रकृतिसँग जुध्दै, सहकार्य गर्दै आफूलाई सक्षम बनायो। ज्ञान, सिप र साधनको विकासले सभ्यतालाई यहाँसम्म ल्यायो। तर आज यस्तो लाग्छ अन्धकारबाट सुरु भएको मानव यात्रा उज्यालो हुँदै फेरि अन्धकारतर्फ फर्कँदैछ। सायद यो पनि शिव र शक्तिकै इच्छा हो।
आज मानवमा आसक्ति यति गहिरो छ कि उसले प्रकृतिले दिएका अमूल्य उपहारभन्दा आफूले नपाएका भौतिक सुविधामा बढी चिन्ता गर्छ। हावा, पानी र अन्नभन्दा पैसा, सम्पत्ति र दम्भ प्रिय भएका छन्। सम्पूर्ण ब्रह्माण्डको आत्मा प्रतीक शिव र विशुद्ध प्रकृति स्वरूप शक्ति मानव चेतनाबाट ओझेल पर्दै गएका अनुभूति हुन्छ।
धर्मको रक्षा गर्ने नाममा, देवताको संरक्षण गर्ने नाममा यदि हामी क्रूर, असहिष्णु र विभाजित बन्छौँ भने त्यो धर्म होइन, विकृति हो। शिव त त्यो चेतना हुन् जहाँ ‘अरू’ भन्ने अस्तित्व छैन त्यहाँ केवल ‘सबै’ छन्। शक्ति त त्यो स्वरूप हुन् जहाँ दमन मात्र होइन, सृजना र करुणा पनि समान रूपमा प्रवाहित छन्। सबै धर्मग्रन्थको मूल सन्देश प्रेम, दया, करुणा, सहभाव र एकता नै हो। तर आज मानवता जुन हाम्रो साँचो धर्म हो । त्यही बोध हराउँदै, आफूले बनाएको देवताको रक्षक भएको भ्रममा टुक्रिँदैछ। सायद यही घोर कलियुग हो।
खबरदार शिवको नाम लिएर घृणा फैलाउनेहरूलाई।
शिवरात्री आत्मसंयम, मौन, ध्यान र बोधको रात हो। जागरण भनेको केवल रातभर जागा बस्नु होइन आफ्नै चेतनालाई जगाउनु हो। उपवास भनेको पेटलाई मात्र होइन, लोभ, मोह र अहंकारलाई पनि थाम्नु हो। शिवरात्रीको सार आत्मशुद्धि हो भित्रको अन्धकारसँग सामना गर्ने साहस।
तर आज शिवरात्री के बन्दैछ? ध्यानभन्दा देखावा, वैराग्यभन्दा भोग, संयमभन्दा उच्छृङ्खलता, र बोधभन्दा व्यापार। मन्दिरभित्र धूप दीप बल्छ, तर बाहिर प्रकृति रोइरहेकी हुन्छ। नशा, फोहोर, कोलाहल र अराजकताबीच ‘शिवभक्ति’ खोजिन्छ। शिवलाई स्मरण गर्ने रातमै शिवले देखाएको मार्ग करुणा, सहभाव र सन्तुलन हामीले बिर्सिरहेका छौँ।
शिवरात्री बाहिर मनाउने पर्व मात्र होइन, भित्र उज्यालो बाल्ने अवसर हो। शिव पूजा फूल र जलले मात्र हुँदैन दया, विवेक र उत्तरदायित्वले हुन्छ। शक्ति आराधना नारा र नाचले मात्र होइन प्रकृतिप्रतिको सम्मान र संरक्षणले हुन्छ।
यदि यसपटक पनि हामीले शिवरात्रीलाई आत्मबोधको सट्टा औपचारिकतामा सीमित गर्यौँ भने, दोष पर्वको होइन हाम्रो चेतनाको हुनेछ। अब खबरदार शिवलाई बुझ्ने बहानामा शिवलाई बिर्सिने क्रम यहीँ रोकौँ।
शिव अनुभूति हुन्, शक्ति प्रवाह हुन् र हामी?हामी जिम्मेवार चेतनाका यात्री हौँ।

ॐ नमः शिवाय।



