एक समय थियो, जब शिक्षाको सुरुवात माटोमै औँलाले अक्षर कोरेर हुन्थ्यो। गाउँघरका खुला चउर, पाखा र आँगनमै विद्यार्थीहरूले ‘क, ख, ग’ सिक्ने गर्थे। त्यो बेला कापी, किताब र बोर्ड जस्ता साधनहरू विलासिताजस्तै थिए। तर, समयसँगै शिक्षा प्रणालीले क्रमिक रूपमा परिवर्तनको गति समात्दै आज डिजिटल युगमा प्रवेश गरिसकेको छ।
शिक्षाको पहिलो औपचारिक चरण मानिने “स्लेट र खडिया” को प्रयोगले विद्यालय शिक्षालाई केही व्यवस्थित बनायो। त्यसपछि आयो ब्ल्याकबोर्डको युग। कक्षाकोठामा शिक्षकले चकले लेख्ने, विद्यार्थीहरूले ध्यान दिएर नोट गर्ने यो शैलीले लामो समयसम्म शिक्षण अध्यापनको मूल आधारको रूपमा काम गर्यो। ब्ल्याकबोर्डले शिक्षालाई एक किसिमको संरचना र स्पष्टता दियो।
समयको मागसँगै ब्ल्याकबोर्डलाई प्रतिस्थापन गर्दै आयो ह्वाइटबोर्ड। मार्करको प्रयोगले धुलोमुक्त वातावरण सिर्जना गर्यो, जसले शिक्षक र विद्यार्थी दुवैलाई सहजता प्रदान गर्यो। विशेष गरी सहरी क्षेत्रका विद्यालयहरूमा ह्वाइटबोर्डको प्रयोग व्यापक रूपमा फैलियो, जसले शिक्षण पद्धतिमा सानो तर महत्वपूर्ण सुधार ल्यायो।
तर, प्रविधिको तीव्र विकासले शिक्षालाई अझै अगाडि धकेल्यो। आजको युगमा डिजिटल बोर्ड, स्मार्ट क्लास, प्रोजेक्टर र इन्टरनेटमा आधारित शिक्षण पद्धति मुख्यधारमा प्रवेश गरिसकेको छ। डिजिटल बोर्डमार्फत भिडियो, एनिमेसन, र इन्टरएक्टिभ सामग्री प्रयोग गरेर पढाइ अझ आकर्षक र प्रभावकारी बन्न थालेको छ। विद्यार्थीहरू केवल सुन्ने र लेख्ने मात्र नभई हेर्ने, बुझ्ने र प्रत्यक्ष सहभागिता जनाउने अवस्थामा पुगेका छन्।
विशेष गरी कोभिड–१९ महामारीपछि अनलाइन कक्षा र डिजिटल शिक्षाको महत्त्व झन् प्रष्ट देखियो। जुम, गुगल क्लासरूम जस्ता प्लेटफर्महरूले शिक्षालाई घरमै पुर्याए। यसले शिक्षाको पहुँच विस्तार गर्नुका साथै नयाँ चुनौतीहरू पनि सिर्जना गर्यो (जस्तै इन्टरनेटको पहुँच, प्रविधि साक्षरता र आर्थिक असमानता)।
नेपालमा अझै पनि केही ठाँऊहरूमा माटो वा स्लेटमै लेख्ने अभ्यास पूर्ण रूपमा हराइसकेको छैन। तर, सहर र विकसित क्षेत्रहरूमा डिजिटल बोर्डले तीव्र रूपमा स्थान ओगटिरहेको छ। यसले शिक्षा प्रणाली दुई फरक यथार्थबीच बाँडिएको संकेत पनि दिन्छ।
समग्रमा, माटोबाट सुरु भएको शिक्षाको यात्रा आज डिजिटल बोर्डसम्म आइपुगेको छ। यो केवल साधनको परिवर्तन मात्र होइन, सोच, शैली र सिकाइको गहिरो रुपान्तरण पनि हो। अबको चुनौती भनेको प्रविधिलाई सबैका लागि समान रूपमा पहुँचयोग्य बनाउँदै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नु हो।
शिक्षाको यो निरन्तर यात्रा अझै रोकिएको छैन । भोलिको दिनमा आर्टिफिसियल इन्टेलिजेन्स, भर्चुअल रियालिटी जस्ता प्रविधिहरूले कक्षा कोठालाई अझै नयाँ उचाइमा पुर्याउने निश्चित छ।



