काठमाडौँ। माघ १४।।त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ३ वर्षे स्नातक तह तेस्रो वर्षको मौका परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरेको छ।
वार्षिक परीक्षा प्रणाली अनुसार २०८२ सालमा सञ्चालन हुने २०८१ सालको उक्त परीक्षा माघ २५ गतेदेखि देशभर सञ्चालन गरिने भएको हो।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकाय (मौका तथा आंशिक), शिक्षाशास्त्र संकाय, व्यवस्थापन संकाय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका परीक्षार्थीहरूका लागि मौका परीक्षा सञ्चालन गर्न लागिएको हो।
यसअघि त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको निर्णयअनुसार २०८२ साल माघ १५ गते काठमाडौँमा परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो तर परीक्षार्थीहरूलाई पर्ने असुविधा तथा आर्थिक भारलाई ध्यानमा राख्दै उक्त निर्णय संशोधन गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
संशोधित निर्णयअनुसार परीक्षा क्षे.प.नि.का अन्तरगत न्यूनतम एक परीक्षा केन्द्र तोकी २०८२ साल माघ २५ गतेदेखि मौका परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ।परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सम्बन्धी थप विवरण, परीक्षा केन्द्र तथा समय तालिकाबारे सम्बन्धित क्याम्पस तथा कार्यालयबाट प्रकाशित हुने सूचनामार्फत जानकारी लिन परीक्षार्थीहरूलाई आग्रह गरेको छ।



