25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

माध्यमिक विद्यालय उमेरका १३.२ प्रतिशत बालबालिका विद्यालय बाहिरै

काठमाडौँ ।२६ माघ ll नेपालमा शिक्षा र बाल सुरक्षाको क्षेत्रमा केही प्रगति भए पनि माध्यमिक तहको शिक्षामा ठुलो सङ्ख्यामा बालबालिका विद्यालय बाहिरै रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१–८२ अनुसार माध्यमिक विद्यालय (कक्षा ९–१२) उमेर समूहका १३.२ प्रतिशत बालबालिका विद्यालय बाहिर छन्। 

आधारभूत तहमा भने यो दर केही कम छ, जहाँ कक्षा १–५ मा ४.५ प्रतिशत र कक्षा ६–८ मा ३.६ प्रतिशत बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेका छन्।

सर्वेक्षणले नेपाली बालबालिकाको पारिवारिक अवस्था र वैदेशिक रोजगारीको प्रभावलाई पनि छर्लङ्ग पारेको छ। १७ वर्षमुनिका करिब ३३–२ प्रतिशत बालबालिकाका आमाबाबुमध्ये कोही एक वा दुवै जना विदेशमा बसोबास गर्छन्। 

वैदेशिक रोजगारीको यो प्रभाव सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ, जहाँ ४०.८ प्रतिशत बालबालिकाका अभिभावक विदेशमा छन् भने बागमती प्रदेशमा यो दर सबैभन्दा कम २१ प्रतिशत मात्र छ। त्यस्तै, ३.४ प्रतिशत बालबालिकाले आफ्ना जन्म दिने आमाबाबुमध्ये कोही एक वा दुवैलाई गुमाइसकेको तथ्याङ्कले देखाएको छ।

बाल सुरक्षा र कानुनी पहिचानको सवालमा भने कर्णाली प्रदेशले देशकै उत्कृष्ट नतिजा हात पारेको छ। ५ वर्षमुनिका बालबालिकाको जन्मदर्तामा कर्णाली प्रदेश ९५.८ प्रतिशतका साथ पहिलो स्थानमा छ भने कोशी प्रदेशमा सबैभन्दा कम ७८.४ प्रतिशत मात्र जन्म दर्ता भएको छ। 

समग्रमा देशभरका ८५.४ प्रतिशत बालबालिकाको जन्म दर्ता भएको पाइएको छ। अभिभावकहरूमा जन्म दर्ता प्रक्रियाबारे चेतनाको स्तर पनि ८२.९ प्रतिशत पुगेको देखिन्छ, जुन बाल अधिकारको क्षेत्रमा सकारात्मक उपलब्धि हो।

यता स्वास्थ्य बीमाको क्षेत्रमा भने नेपालीहरूको आकर्षण अझै कम देखिएको छ। तथ्याङ्क अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका १७.८ प्रतिशत महिला र १९.६ प्रतिशत पुरुषले मात्र स्वास्थ्य बीमा गरेका छन् । बालबालिकाको हकमा यो अवस्था झनै कमजोर छ । ५ देखि १७ वर्षका १५ प्रतिशत र ५ वर्षमुनिका ११.७ प्रतिशत बालबालिका मात्र बीमाको दायरामा समेटिएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार