25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

असल अभिभावकत्व विषयमा विध्यालयमा छलफल

भक्तपुर।। माघ २१।।चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित देवी माध्यमिक विद्यालयले अभिभावक संग छलफल कार्यक्रम सम्पन्न गरेको छ । असल अभिभावकत्व विषयमा भएको सो छलफलमा परामर्शकर्ता कमल सिलवालले बालबालिका र अभिभावक बिचको दैनिक व्यवहारका बारेमा मिहिन ढंगले कुरा गर्नुभयो । छलफल, अभिभावकहरूका आफ्नै व्यवहार, आफ्नै पारिवारिक अभ्यास र आफ्नै यथार्थसँगको प्रतिविम्बमा केन्द्रित गरिएको थियो । 

‘बच्चा चुप लागोस् भनेर मोबाइल दिने हामी नै पछि गुनासो गर्छौँ कि मेरो बच्चा मसँग बोल्दैन’ उहाले यसो भन्दै गर्दा सहभागि अभिभावकलाई आत्ममूल्याङ्कनको क्षणमा पुर्याएको थियो । 

बालबालिकाको हुर्काईमा विद्यालय र घरको भूमिकालाई स्पष्ट पार्दै सिलवालले ‘विद्यालय परीक्षणशाला हो भने घर वास्तविक प्रयोगशाला हो । शिक्षकले मार्गदर्शन गर्नुहुन्छ, तर बालबालिकाको चरित्र, अनुशासन, व्यवहार र मानसिक स्वास्थ्य मुख्यतः घरमै निर्माण हुन्छ ।’ 

अंक, परीक्षा र प्रतिस्पर्धामै सीमित सोचले बालबालिकालाई अनावश्यक दबाबमा पार्ने र उनीहरूको आत्मविश्वास कमजोर बनाउने उल्लेख गर्दै उहाले अभिभावकहरूले अञ्जानमा गर्ने गम्भीर त्रुटिका रूपमा तुलना गर्ने प्रवृत्तिलाई औँल्याउनु भयो ।

‘छिमेकीको छोरा, मामाघरको छोरी वा सामाजिक सञ्जालमा देखिने बालबालिकासँग तुलना गर्दा आफ्ना बालबालिकाको आत्मबल क्रमशः क्षीण हुँदै गएको पत्तै पाईँदैन’ उहाले भन्नुभयो ‘यस्तो तुलनाले तत्काल देखिने समस्या नभए पनि दीर्घकालीन रूपमा बालबालिकाको सोच, निर्णय क्षमता र व्यवहारमा गहिरो असर पर्ने गरेको छ ।’ त्यसैगरी, डर, धम्की र कुटपिटलाई अनुशासनको माध्यम ठान्ने सोच बदल्न शिक्षक र अभिभावक दुवै पक्ष गम्भिर बन्नु पर्ने बताउँदै सिलवालले समस्या समाधानको उपाय बालबालिकालाई सजाय नभएकोमा जोड दिनुभयो । 

अन्तरक्रियात्मक विधिबाट सञ्चालन गरिएको अभिभावक अभिमुखीकरणमा अभिभावक शिक्षाको अभावमा कैयौं बालबालिकाहरू विद्यालयका साथै आफ्नै घरमा दबाबपूर्ण जीवन बिताउन बाध्य भएको समेत निष्कर्श प्रस्तुत गरिएको थियो । यसलाई न्यूनीकरण गर्न बालबालिकाका पहिलो शिक्षकका रूपमा रहेका आमाबाबुलाई सिकाइ र बालबालिकाको मनोविज्ञानबारे कक्षा सञ्चालन गर्नुपर्ने विषय पनि कार्यक्रममा उठेको छ । 

विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजुले विद्यार्थीको समग्र विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै विद्यालयलाई समस्या पर्दा नभई आफ्ना सन्तानको शैक्षिक र व्यवहारिक प्रगतिबारे बुझ्न पनि अभिभावकहरू नियमित रूपमा विद्यालयसँग सम्पर्कमा रहनु आवश्यक रहेको बताए । 

कार्यक्रममा सहभागी अभिभावकहरूले यस्ता कार्यक्रम आत्ममन्थन र  जिम्मेवारीको बोध गर्न सहयोगी भएको र आफ्नै भूमिकालाई पुनः मूल्याङ्कन गर्ने र बालबालिकासँगको सम्बन्धलाई नयाँ दृष्टिले हेर्ने अवसर भएको प्रतिक्रिया दिनुभयो।एडुखबरबाट

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार