मलंगवा, २९ चैत (२०८२)| सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४ बाट स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको विशेष प्रहरी टोलीले शुक्रबार राति उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा चन्द्रनगर गाउँपालिका-४ का २३ वर्षीय कृष्ण कुमार पासवान र सोही गाउँपालिका वडा नम्बर १ का ४१ वर्षीय शिव नारायण महतो रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३-०३७ प ७४५० नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको रकमको स्रोत खुलाउन नसकेपछि उनीहरूलाई आवश्यक कारबाहीका लागि हिरासतमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।



