नेपाल सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रा. लि. द्वारा उत्पादित ‘डाबर हनी’ (Dabur Honey) बजारबाट तत्काल फिर्ता (Recall) गर्न आदेश जारी गरेको छ।
विभाग र यस अन्तर्गतका निकायहरूबाट बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको महको नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यूनस्तर पाइएकाले विभागले यो कडा कदम चालेको हो।
यस्तो छ विवरण र बजारबाट फिर्ता गर्नुपर्ने ब्याच:
- खाद्य पदार्थको नाम: Honey (५०० ग्राम)
- ब्राण्ड: DABUR (डाबर)
- ब्याच नम्बर: NB00477
- उत्पादन मिति: 2025/12
- उपभोग्य मिति: उत्पादन मितिबाट १८ महिना
- उत्पादकको नाम/ठेगाना: डाबर नेपाल प्रा. लि., जितपुर सिमरा उ.म.न.पा.–२३, बारा।
- फिर्ता गर्नुको कारण: न्यूनस्तर खाद्य पदार्थ पाइएको।
बिक्री वितरणमा पूर्ण रोक:
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम विभागले उक्त विशिष्ट ब्याच नम्बर (NB00477) का सम्पूर्ण ५०० ग्रामका डाबर हनी बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई आदेश दिएको छ।
साथै, सोही ऐनको दफा ३८ को उपदफा (४) बमोजिम महानिर्देशकको निर्देशानुसार उक्त ब्याचको मह बिक्री वितरण नगर्न र नगराउन समेत सम्बन्धित सबैलाई सूचित गरिएको छ। बजारमा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड हुन नदिन विभागले अनुगमनलाई अझ तीव्र पार्ने जनाएको छ।



