झापा । झापाको हल्दिबारी गाउँपालिकामा एक व्यक्तिले घरायसी विवादका क्रममा आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी गाउँपालिका वडा नं. ५ धनुषा टोल बस्ने ४४ वर्षीय गोकर्ण प्रसाद भण्डारी (गणेश) ले ३३ वर्षीया श्रीमती उर्मिला कटवाल (भण्डारी) को हत्या गरेका हुन्।
पारिवारिक विवादमा ‘बाम्पोक’ प्रहार
प्रहरीका अनुसार जेठ ५ गते राति अन्दाजी २३:०० बजेको समयमा उनीहरूबीच घरायसी विवाद भएको थियो। सोही क्रममा गोकर्णले श्रीमती उर्मिलाको टाउकोमा धारिलो हतियार (बाम्पोक) प्रहार गरेका थिए। गम्भीर चोट लागेकी उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको एक थान बाम्पोक समेत बरामद गरेको छ।
अभियुक्त नियन्त्रणमा, अनुसन्धानका लागि ५ दिनको म्याद
घटनालगत्तै हत्यामा संलग्न मृतकका श्रीमान गोकर्ण प्रसाद भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) खगेन्द्र बहादुर खड्काका अनुसार अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ। उनलाई आज (जेठ ६ गते) झापा जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि पहिलो पटक ५ (पाँच) दिनको म्याद थप गरिएको छ।



