आज वैशाख शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व अक्षय तृतीया। प्रत्येक वर्ष झैँ यस वर्ष पनि देशभर सातु र सर्वत दान एवं सेवन गरी यो पर्व श्रद्धापूर्वक मनाइएको छ।
धार्मिक तथा शास्त्रीय महत्व
धार्मिक विश्वास अनुसार यस दिन गरिएको स्नान, दान, जप र होम जस्ता पुण्य कार्यको फल कहिल्यै नाश नहुने अर्थात् ‘अक्षय’ रहने भएकाले यसलाई अक्षय तृतीया भनिएको हो। पौराणिक ग्रन्थहरूका अनुसार आजकै दिनदेखि त्रेता युगको सुरुवात भएको मानिन्छ। साथै, भगवान विष्णुको छैटौँ अवतारका रूपमा परशुराम जयन्ती पनि आजकै दिन मनाइने गरिन्छ।
सातु र सर्वतको विशेष महिमा
वैशाखको चर्को गर्मीमा शरीरलाई शीतलता प्रदान गर्न र स्वास्थ्यलाई सन्तुलित राख्न जौको सातु र चिनी वा सख्खर मिसाइएको सर्वत खानु र खुवाउनु यस पर्वको मुख्य विशेषता हो। आयुर्वेद र धर्मशास्त्र अनुसार यस दिन खाइने सातुले शरीरमा ऊर्जा बढाउनुका साथै पित्त नाशकको काम गर्दछ। बाटो हिँड्ने बटुवा तथा भोका-तिर्खाएका व्यक्तिहरूलाई सातु र सर्वत खुवाउनुलाई महादान मानिन्छ।
परम्परा र उत्सव
आज बिहानै स्नान गरी घर सफा सुग्घर पारेर भगवान विष्णु र लक्ष्मीको पूजा गर्ने गरिन्छ। भक्तजनहरूले आजको दिन तामा वा माटोको घडामा पानी भरेर, त्यसमाथि सातु राखेर ब्राह्मण वा असाहयलाई दान गर्ने गर्दछन्, जसलाई ‘धर्मघट’ दान पनि भनिन्छ।
राजधानीको पशुपतिनाथ, स्वयम्भू लगायत देशभरका विभिन्न मठमन्दिरहरूमा आज बिहानैदेखि भक्तजनहरूको भिड लागेको छ। मिथिला क्षेत्रमा पनि यो पर्वको विशेष उल्लास देखिएको छ, जहाँ सख्खर र जौको सातु दान गर्ने पुरानो परम्परा रहेको छ।



