बिर्तामोड, झापा ।
झापाको बिर्तामोड–३ स्थित पर्यटकीय गन्तव्य बिराट पोखरीमा नयाँ वर्ष २०८३ को अवसर पारेर बोटिङ तथा बाल उद्यान सेवा औपचारिक रूपमा सुरु भएको छ। श्री बिराट पोखरी (सरोबर बहुद्देश्यीय) विकास समितिले वैशाख १ गतेदेखि नै यी मनोरञ्जनका सुविधाहरू सञ्चालनमा ल्याएको हो।
नयाँ वर्षको पहिलो दिनदेखि सुरु भएको यस सेवाअन्तर्गत अहिले पोखरीमा वाटर साइकल र प्याडल बोट सञ्चालन भइरहेका छन्। साथै, बालबालिकाका लागि निर्माण गरिएको बाल उद्यान (Children Park) पनि सञ्चालनमा आएपछि बिराट पोखरी परिसरमा आन्तरिक पर्यटकहरूको चहलपहल निकै बढेको छ।
समितिले आफ्ना साधारण सदस्य, स्थानीय बासिन्दा तथा जिल्लाभरका पर्यटकहरूलाई पोखरीमा उपलब्ध सुविधाहरूको अवलोकन र उपयोग गरी लाभ लिन अनुरोध गरेको छ। पर्यटकीय आकर्षणको केन्द्र बनाउन समितिले थप पूर्वाधार र सुविधा थप्दै लैजाने योजना समेत बनाएको छ।
स्थानीय स्तरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यी सेवाहरू प्रयोग गर्दा समितिले तोकेका सुरक्षा सम्बन्धी नियमहरूको पूर्ण पालना गर्न समेत व्यवस्थापन पक्षले आग्रह गरेको छ। बिर्तामोड आसपासका क्षेत्रमा पारिवारिक घुमघाम र मनोरञ्जनका लागि बिराट पोखरी एउटा उपयुक्त गन्तव्यको रूपमा विकास हुँदै गएको छ।



