विराटनगर, ३ वैशाख । कोशी प्रदेशका विभिन्न स्थानमा प्रहरीले सक्रियता बढाएसँगै ठूलो परिमाणमा लागू औषधसहित तीन जना पक्राउ परेका छन्। मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानमा गरिएको चेकजाँचका क्रममा ब्राउन सुगर, प्रतिबन्धित औषधि र गाँजा बरामद गरिएको हो।
विराटनगरमा ब्राउन सुगरसहित काठमाडौँका युवक पक्राउ
इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले विराटनगर-१५ बाट २० ग्राम ५५० मिलिग्राम ब्राउन सुगरसहित सयल थापा मगरलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका-२६ का सयललाई आइतबार विशेष चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो।
नडाहामा ३ हजार बढी ट्याब्लेट बरामद
सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थित नडाहाबाट प्रहरीले उदयपुरका दुई युवकलाई पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी नडाहाका अनुसार उदयपुर चौदण्डीगढी-६ का राज राई र खुसे राईको साथबाट १ हजार ६१० क्याप्सुल ट्रामाडोल र १ हजार ६०९ ट्याब्लेट स्पास्पेन बरामद गरिएको छ।
बेवारिसे कारमा साढे १५ किलो गाँजा
यसैगरी, सुनसरीकै इनरुवा नगरपालिका-१० स्थित सडक छेउमा शङ्कास्पद अवस्थामा रोकी राखेको को. १ च ३६११ नम्बरको कारबाट प्रहरीले १५ किलो ६०० ग्राम गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय हरिनगराको टोलीले उक्त परिमाणको गाँजासहित कारलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूमाथि लागू औषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।



