इनरुवा (सुनसरी), ४ वैशाख – सुनसरीको बर्जु गाउँपालिका–६ बाट सशस्त्र प्रहरीले दुर्लभ वन्यजन्तु गैँडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार राति झापाबाट खाग बोकेर आइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकली र ४ नम्बर गण सुनसरीको टोलीले बर्जु–६ स्थित ताल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक (SP) श्याम कार्कीले जानकारी दिनुभयो। पक्राउ परेकाहरूको साथबाट एउटा गैँडाको खाग र तस्करीमा प्रयोग गरिएका दुईवटा मोटरसाइकल बरामद गरिएको छ।
यस घटनामा ठूलो गिरोहको संलग्नता हुनसक्ने र थप अनुसन्धान जारी रहेकाले पक्राउ परेका व्यक्तिहरूको नाम भने हाललाई गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ।



