बिर्तामोड, वैशाख २४ । नेपाली मिडिया जगतमा नयाँ आयाम थप्ने उद्देश्यका साथ ‘ग्रीन मिडिया प्रा. लि.’ को औपचारिक शुभारम्भ गरिएको छ । आज आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीले आफ्नो व्यावसायिक यात्रा सुरु गरेको घोषणा गरेको हो ।
स्थापनाकै अवसरमा कम्पनीले हरेक वर्षको वैशाख २४ गतेलाई आफ्नो वार्षिक उत्सव (स्थापना दिवस) को रूपमा भव्यताका साथ मनाउने निर्णय समेत गरेको छ ।
ग्रीन मिडिया अन्तर्गत हाल ‘esavidya.com’ नामक अनलाइन न्यूज पोर्टल र यसको आधिकारिक फेसबुक पेज सञ्चालनमा रहेका छन् । “सूचना र शिक्षाको संगम” भन्ने मूल भावका साथ सुरु गरिएको यस पोर्टलले समसामयिक समाचार, शैक्षिक सामग्री र विश्लेषणात्मक लेखहरूलाई प्राथमिकता दिँदै आएको छ ।
कार्यक्रममा बोल्दै सञ्चालक प्रशान्त न्यौपानेले भन्नुभयो, “हामीले प्रविधिको प्रयोग गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न ग्रीन मिडियाको सुरुवात गरेका हौं । esavidya.com मार्फत हामी पाठकहरूलाई सूचना मात्र नभई ज्ञान पनि बाँड्ने प्रयास गर्नेछौं ।”
हाल डिजिटल प्लेटफर्ममा आक्रामक रूपमा अगाडि बढिरहेको यस मिडियाले आगामी दिनमा थप रचनात्मक र जानकारीमूलक कार्यक्रमहरू ल्याउने योजना बनाएको छ ।



