काठमाडौं, २६ वैशाख । यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै साझा यातायातले काठमाडौं र चितवनका लागि ननस्टप सटल बस सेवा सञ्चालनमा ल्याएको छ । साझा यातायातले गोंगबु बसपार्कबाट सिधै चितवनका लागि यात्रु सटल बस सेवा सुरु गरेको हो ।
सहकारी मोडलमा सञ्चालित साझाले काठमाडौं–चितवन र चितवन–काठमाडौं रुटमा ननस्टप बस चलाउने निर्णय गरेको छ । जसअनुसार यात्रुहरूले अब एकतर्फी भाडा बापत मात्र ५२० रुपैयाँ तिर्नुपर्नेछ ।
साझा यातायातका अनुसार यो सेवा मिति २०८१/०१/२६ देखि नै कार्यान्वयनमा आइसकेको छ । गोंगबु बसपार्कबाट दैनिक बिहान ७:०० बजे र ९:०० बजे गरी दुईवटा समयमा बसहरू चितवनका लागि छुट्ने व्यवस्था मिलाइएको छ ।
सस्तो र सुलभ भाडादरमा स्तरीय सेवा दिनका लागि यो सेवा प्रभावकारी हुने साझा यातायातको विश्वास छ । यात्रुहरूले थप जानकारीका लागि साझा यातायातको कार्यालय वा मोबाइल एप ‘साझा प्लस’ बाट पनि जानकारी लिन सक्नेछन् ।



