बिर्तामोड, २६ वैशाख | झापाको बिर्तामोडस्थित मुख्य व्यापारिक केन्द्र मुक्तिचोकमा रहेको ऐतिहासिक स्मारक (मूर्ति) यतिबेला क्रेन र डोजर लगाएर भत्काउने कार्य भइरहेको छ। महेन्द्र राजमार्ग विस्तार योजना अन्तर्गत चोकको बीचमा रहेको यो संरचनाले सडक फराकिलो बनाउन अवरोध पुर्याएपछि नगरपालिका र सडक विभागले अहिले रातिको समयमा यो कारबाही अघि बढाएका हुन्।
एसियन हाइवेको मापदण्ड अनुसार राजमार्गलाई ४ लेनको बनाउन चोकको बीच भाग खाली गर्न लागिएको हो। यसअघि नै चोक आसपासका अन्य अवैध संरचनाहरू हटाइसकिएको छ |
बिर्तामोडको चिनारीको रूपमा रहेको मुक्तिचोकको स्वरूप परिवर्तन हुन लाग्दा कतिपयले सहरको पहिचान हराउने भन्दै गुनासो गरेका छन् भने अधिकांशले सडक विस्तार भएपछि ट्राफिक जामको समस्या हट्ने भन्दै यसलाई सकारात्मक रूपमा लिएका छन् |



