काठमाडौँ, जेठ ७ । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सरकारले सञ्चालन गरेको निःशुल्क हवाई उद्धार कार्यक्रम दुर्गमका महिलाका लागि जीवनदायिनी बन्दै गएको छ । यसै क्रममा आज बाजुरा, सर्केगाउँ-०१ निवासी एक महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हवाई साधन (हेलिकप्टर) मार्फत कर्णाली प्रदेश अस्पताल पुर्याइएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’ अन्तर्गत यो कार्यक्रम सञ्चालन भइरहेको छ । दुर्गम र हिमाली क्षेत्रमा यातायातको असुविधा तथा समयमा उपचार नपाउँदा हुने मातृ मृत्युदर कम गर्न मन्त्रालयले यो सेवालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।
मन्त्रालयका अनुसार बाजुराकी ती महिलाको स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि तत्कालै मन्त्रालय र नेपाली सेनाको समन्वयमा उद्धार गरिएको हो । हाल उनलाई कर्णाली प्रदेश अस्पतालमा भर्ना गरी विशेषज्ञ टोलीद्वारा उपचार सुरु गरिएको छ ।
भौगोलिक विकटताका कारण समयमै अस्पताल पुग्न नसकी ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न यो हवाई उद्धार कार्यक्रम कोशेढुङ्गा सावित हुँदै आएको छ । मन्त्रालयले आगामी दिनमा पनि यो सेवालाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।



