काठमाडौँ — वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चार जनालाई पक्राउ गरेको छ। बेरोजगारी युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभन देखाई लामो समयसम्म झुक्यानमा राखेर ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका वडा नं. २६ बस्ने ३० वर्षीय दिपेश गुरुङ र २४ वर्षीय सौगात गुरुङ रहेका छन्। उनीहरूले टर्की पठाइदिने बहानामा ८ जना पीडितहरूबाट कुल रु. ८६,२२,५७० (छयासी लाख बाइस हजार पाँच सय सत्तरी) ठगी गरेको आरोप छ। उनीहरूलाई २०८३ जेठ ५ गते काठमाडौँबाट पक्राउ गरिएको हो।
त्यस्तै, पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नं. १० स्थायी घर भई हाल ललितपुर गोदावरी नगरपालिका वडा नं. २२ बस्ने ४४ वर्षीय सूर्य प्रकाश खेजुम पनि पक्राउ परेका छन्। उनले साइप्रस पठाइदिने भन्दै १ जना पीडितबाट रु. ९,५०,००० (नौ लाख पचास हजार) ठगी गरेको खुलेको छ। उनलाई जेठ ५ गते ललितपुरबाट नियन्त्रणमा लिइएको हो।
यसैगरी, काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नं. ५ स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ३ बस्ने ३३ वर्षीया शान्ती श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। [Image] उनले लिथुआनिया पठाइदिने प्रलोभनमा १ जना पीडितबाट रु. १,९३,००० (एक लाख त्रियानब्बे हजार) ठगी गरेको आरोप छ। उनलाई २०८३ जेठ ६ गते काठमाडौँको वडा नं. ३० बाट पक्राउ गरिएको हो।
पक्राउ परेका सबै अभियुक्तहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ



