काठमाडौँ, २७ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव भइरहेको भन्दै निगमले आज मध्यरात १२:०० बजेदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।
निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य बढाउने निर्णय गरेको छ।
कुनमा कति बढ्यो?
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु १७ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु २५–२५ वृद्धि गरिएको छ। यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु १०० र हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर रु ६ बढाइएको छ।
अब कति पर्छ? (नयाँ मूल्य सूची)
नयाँ मूल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको भाउ यसप्रकार कायम भएको छ:
- पेट्रोल: रु २१९ प्रतिलिटर
- डिजेल र मट्टितेल: रु २०७ प्रतिलिटर
- एलपी ग्यास: रु २,०१० प्रतिसिलिन्डर
- हवाई इन्धन (आन्तरिक): रु २५७ प्रतिलिटर
किन बढ्यो मूल्य?
सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिए पनि निगमको घाटा कम नभएको दाबी गरिएको छ। निगमका अनुसार यो मूल्यवृद्धि पछि पनि संस्थालाई पाक्षिक रूपमा करिब रु ७ अर्ब ८१ करोड घाटा रहने स्थिति छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएकाले नेपालमा पनि समायोजन गर्नुपरेको निगमको तर्क छ।



