काठमाडौं, ३० वैशाख । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सूचना प्रणालीमा आएको प्राविधिक समस्याका कारण राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू अझै पूर्ण रूपमा सुचारु हुन सकेका छैनन्। विभागले एक सूचना जारी गर्दै प्रणाली मर्मतको काम भइरहेकोले सेवा अवरुद्ध भएको जनाएको छ।
गत वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) मा प्राविधिक समस्या देखिएको थियो। जसका कारण नयाँ इनरोलमेन्ट (दर्ता) गर्दा प्राप्त हुने राष्ट्रिय परिचय नम्बर (NIN) लाई प्रणालीले प्रमाणीकरण (Validate) गर्न सकेको छैन।
विभागका अनुसार, वैशाख २३ गते नै यसबारे जानकारी गराइएको भए तापनि हालसम्म मर्मत कार्य जारी रहेकाले सेवा सुचारु हुन सकेको छैन। यो समस्या देशभरका सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको राष्ट्रिय परिचयपत्र इकाईहरूमा कायम रहेको छ।
सेवा कहिलेदेखि सुचारु हुन्छ भन्नेबारे विभागले स्पष्ट मिति तोकेको छैन। यद्यपि, प्राविधिक समस्या समाधान हुनासाथ अर्को सूचनामार्फत जानकारी गराउने विभागले जनाएको छ। लामो समयदेखि सेवा अवरुद्ध हुँदा नयाँ परिचयपत्र बनाउन चाहने र अति आवश्यक कामका लागि नम्बर प्रमाणीकरण गर्नुपर्ने सेवाग्राहीहरू मारमा परेका छन्।



