भद्रपुर, ४ जेठ । झापाको भद्रपुर नगरपालिकाले नगर क्षेत्रभित्रका युवाहरूका लागि निःशुल्क आधारभूत फोटोग्राफी तथा भिडियोग्राफी तालिम सञ्चालन गर्ने भएको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा र नगर युवा परिषद्को निर्णयअनुसार यो ७ दिने तालिम आयोजना गर्न लागिएको हो।
नगरपालिकाद्वारा जारी सूचना अनुसार भद्रपुर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने १६ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरूले यस तालिममा सहभागिताका लागि आवेदन दिन सक्नेछन्।
तालिममा सहभागी हुन इच्छुक युवाहरूका लागि अनलाइन आवेदन खुला गरिएको छ। सूचनामा दिइएको गुगल फर्मको लिंकमार्फत युवाहरूले आफ्नो आवेदन दर्ता गराउन सक्नेछन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रका अनुसार युवाहरूमा उद्यमशीलता र प्रविधिको विकास गर्ने उद्देश्यले यो तालिम सञ्चालन गर्न लागिएको हो।
