काठमाडौँ, जेठ ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज जेठ ५ गते (मंगलबार) को मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशका विभिन्न पहाडी भू-भागमा वर्षा र तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको छ।
दिउँसोको मौसम: पहाडमा वर्षा, तराईमा गर्मी
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत अन्य हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा र अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना छ। यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा भने आज ‘तातो दिन’ (Heat Wave) हुने सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ।
रातिको मौसम: मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने मधेश प्रदेश लगायत बाँकी पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी तराई भू-भागमा भने राति मौसम मुख्यतया सफा रहनेछ।



