बुद्धशान्तिको ‘भाइरल रुख’ (शिरिष) परिसरमा कडाइ, गाउँपालिकाद्वारा ७ बुँदे निर्देशन जारी (सूचनासहित)

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मा रहेको चर्चित ‘भाइरल रुख’ (शिरिष) परिसरमा जथाभावी गर्ने आगन्तुक तथा व्यवसायीहरूलाई लक्षित गर्दै गाउँपालिकाले कडा निर्देशन जारी गरेको छ। फूल फुल्ने अवधिभर यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई जोगाउन र थप व्यवस्थित बनाउन गाउँ कार्यपालिकाको कार्यालयले ७ बुँदे सार्वजनिक सूचना जारी गरेको हो।

गाउँपालिकाका अनुसार उक्त क्षेत्रमा दृश्यावलोकनका लागि आउने आगन्तुक तथा पर्यटकहरूले जथाभावी फूल तथा पात टिप्ने, हाँगाहरू भाँच्ने र फोहोर फैलाउने गरेको पाइएको छ। साथै, व्यवसायीहरूले राती अबेरसम्म निषेधित वस्तु बिक्री गर्ने, होहल्ला गर्ने, रुख वरिपरि लुगा झुन्ड्याउने, तोकिएको क्षेत्रभन्दा बाहिर थप संरचना बनाउने र अनाधिकृत रूपमा फोटो खिचेर अनावश्यक रकम असुल गर्ने जस्ता अवाञ्छित गतिविधि बढेपछि गाउँपालिकाले यस्तो कदम चालेको हो।

गाउँपालिकाद्वारा जारी देहायका ७ बुँदे निर्देशनहरू:

१. फूल र हाँगा जोगाउने: शिरिष परिसरको प्राकृतिक सौन्दर्य कायम राख्न जथाभावी रूपमा फूलहरू नटिप्न र रुखको हाँगा नभाँच्न निर्देशन दिइएको छ।
२. फोहोर व्यवस्थापन: परिसर वरिपरि जथाभावी फोहोर नफाल्न र उत्सर्जित फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्नुपर्ने।
३. तस्बिर खिच्नमा नियमन: व्यवसायीहरूले फूलको रुख वरिपरि लुगा झुन्ड्याउन पाउने छैनन्। फोटो खिच्ने व्यवसायीहरूले सम्बन्धित व्यक्तिको सहमति बिना फोटो खिच्न र अनावश्यक रकम असुल गर्न नपाउने।
४. व्यवसाय क्षेत्र तोकियो: वडा कार्यालयले तोकेको क्षेत्रभित्र मात्र व्यापार व्यवसाय गर्न पाइने।
५. समय सीमा निर्धारण: व्यवसायीहरूले राती बढीमा ९ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउने र अनावश्यक होहल्ला गर्न नपाइने।
६. अवाञ्छित क्रियाकलापमा रोक: क्षेत्रभित्र कुनै पनि प्रकारका अवाञ्छित र अमर्यादित क्रियाकलापहरू गर्न नपाइने।
७. अवैध संरचना हटाउनुपर्ने: सूचिकृत व्यवसायिक टहरा बाहेकका अन्य अनाधिकृत छाप्रा वा टहराहरू निर्माण गर्न नपाइने र निर्माण गरिएका भए तुरुन्त हटाउनुपर्ने।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साहद्वारा जारी यस सूचनाको अवज्ञा गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार