यतिबेला विश्वका प्रमुख शक्तिशाली राष्ट्रहरू चरम मौसमी संकटको सामना गरिरहेका छन्। युरोपेली मुलुकहरू ऐतिहासिक तातो हावा (लू) र ‘हिट डोम’ (Heat Dome) को चपेटामा परेका छन् भने अमेरिकाको टेक्सस र वासिङ्टन क्षेत्र भीषण बाढी र औद्योगिक दुर्घटनाले ग्रस्त बनेको छ।
युरोपमा तातो हावाको बितण्डा, पेरिसमा नयाँ रेकर्ड
पश्चिमी युरोपका फ्रान्स, इटाली लगायतका देशहरूमा तापक्रम अत्यधिक बढेपछि जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ। वायुमण्डलमा विकसित ‘हिट डोम’ का कारण तातो हावा एकै ठाउँमा थुनिएर रहँदा फ्रान्सको राजधानी पेरिस लगायतका प्रमुख सहरहरूमा तापक्रमले पुराना सबै रेकर्डहरू तोडेको छ।
मौसमविद्हरूले सर्वसाधारणलाई दिउँसोको समयमा घरबाहिर ननिस्कन र कडा शारीरिक श्रम नगर्न चेतावनी जारी गरेका छन्। गर्मीका कारण युरोपका स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप अत्यधिक बढेको छ।
अमेरिकामा भीषण बाढी र केमिकल उद्योगमा विस्फोट
अर्कोतर्फ, संयुक्त राज्य अमेरिकाको टेक्सस र वासिङ्टन क्षेत्रमा लगातारको भीषण वर्षापछि अभूतपूर्व बाढी आएको छ। बाढीका कारण सयौँ घरहरू डुबानमा परेका छन् भने थुप्रै मानिसहरू बेपत्ता भएका छन्।
यसैबीच, बाढी प्रभावित क्षेत्रमै रहेको एउटा ठूलो Chemical उद्योगमा भीषण विस्फोट भएको छ। विस्फोटपछि निक्लिएको विषाक्त धुवाँ र रसायनका कारण आसपासका क्षेत्रमा वातावरणीय संकट निम्तिएको छ। सुरक्षा निकायहरूले प्रभावित क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्न उद्धार कार्य तीव्र पारेका छन्।



