झापा।। २८ माघ ।। आज विज्ञानमा महिला तथा बालिकाको अन्तरराष्ट्रिय दिवस मनाईंदैछ । सम्युक्त राष्ट्रसङ्घले सन् २०१५ को डिसेम्बर २२ तारिखमा प्रस्ताव पारित गर्दै हरेक वर्ष फेब्रुअरी ११ तारिखलाई विज्ञानमा महिला तथा बालिकाको अन्तरराष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरे अनुसार सन् २०१६ देखि सो दिवस मनाउन थालिएको छ।यस दिन महिला तथा बालिकालाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित सम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश्वका विभिन्न देशमा मनाउने गरिन्छ ।
विश्वभर विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसम्बन्धी सबै तहका विषयहरूमा लामो समयदेखि लैङ्गिक असमानता रहँदै आएको छ । महिलाले उच्च शिक्षामा सहभागिता विस्तार गर्ने दिशामा उल्लेखनीय प्रगति गरे पनि यी क्षेत्रहरूमा उनीहरूको प्रतिनिधित्व अझै पनि न्यून छ । लैङ्गिक समानता संयुक्त राष्ट्रसङ्घको प्रमुख ‘एजेन्डा’ मध्ये एक रहँदै आएको छ ।
महिला तथा बालिकाको सशक्तीकरण र लैङ्गिक समानताले विश्वको आर्थिक विकासमा मात्र नभई दिगो विकासका लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास छ । महिलासम्बन्धी राष्ट्रसङ्घीय आयोगले सन् २०११ मार्च १४ मा सम्पन्न आफ्नो पचपन्नौँ अधिवेशनमा शिक्षा, तालिम तथा विज्ञान र प्रविधिमा महिला तथा बालिकाको पहुँच र सहभागिता विस्तार तथा पूर्ण रोजगारी र सम्मानजनक काममा महिलाको समान पहुँच प्रवर्द्धन गर्ने विषयमा सहमत निष्कर्षसहितको प्रतिवेदन पारित गरेको थियो ।
त्यसैगरी, सन् २०१३ डिसेम्बर २० मा महासभाले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी प्रस्ताव पारित गर्दै सबै उमेर समूहका महिला तथा बालिकालाई विज्ञान, प्रविधि र नवप्रवर्तनमा पूर्ण तथा समान पहुँच र सहभागिता सुनिश्चित गर्नु लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि अपरिहार्य भएको बताएको थियो ।दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विज्ञप्तीमार्फत विज्ञान तथा प्रविधिमा महिला तथा बालिकाको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।



