काठमाडौँ, २२ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
दिउँसोको मौसम अवस्था
देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी क्षेत्रमा आंशिक बादल रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा बाँकी तराईका एक-दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने हुरीबतास चल्न सक्ने देखिएको छ।
रातिको मौसम पूर्वानुमान
राति देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भू-भागमा आंशिक बादल रहनेछ। तराईको मौसम भने मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रका थोरै स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस र कोशी प्रदेशका तराईमा राति पनि हुरीबतास चल्न सक्ने पूर्वानुमान गरिएको छ।
सतर्कता अपनाउन आग्रह
वर्षा, हिमपात र हुरीबतासको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र यात्रा गर्दा मौसमको अवस्था बुझ्न महाशाखाले सबैमा अनुरोध गरेको छ।



