सुनसरी, २६ चैत । सुनसरीको हरिनगरा गाउँपालिकाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको संयुक्त टोलीले सोमबार दिउँसो १:१५ बजेको समयमा हरिनगरा-२ स्थित भुटाहा बजारमा चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो।
भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको मे ८ प ५८७० नम्बरको स्कुटरलाई शंका लागेर रोकी चेकजाँच गर्दा स्कुटरको डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध ट्रमाडोल-५००० (पाँच हजार) क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।
लागुऔषधसहित पक्राउ पर्नेमा सुनसरी हरिनगरा गाउँपालिका वडा नं. ६ बस्ने २१ वर्षीय अबजुल अन्सारी रहेका छन्। उनलाई स्कुटरसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो।



