विराटनगर, २६ चैत । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका वडा नं. ५ बाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका अवैध सामान र एउटा मोटरसाइकल बरामद गरेको छ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आइतबार राति अन्दाजी १०:०० बजे सडक किनारमा बेवारिसे अवस्थामा राखिएको BR 38 AA 6652 नम्बरको भारतीय मोटरसाइकल र त्यसमा लोड गरिएका लुगाकपडा तथा सुकेको खुर्सानी फेला पारेको हो।
बरामद गरिएका सामानहरूको विवरण:
- कुर्ता सुरुवाल सेट: १७८ पिस (अन्दाजी मूल्य रु. १,९३,६००/-)
- सुकेको खुर्सानी: ४५ के.जी. (अन्दाजी मूल्य रु. ६,७५०/-)
- मोटरसाइकल: १ थान (अन्दाजी मूल्य रु. १,०५,०००/-)
प्रहरीका अनुसार बरामद गरिएका कुल ३ लाख ५ हजार ३५० रुपैयाँ बराबरका सामान र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी, विराटनगर पठाइएको छ।



