भद्रपुर (झापा), २७ चैत । झापाको बाह्रदशी गाउँपालिकामा वाईफाई जडान गर्ने क्रममा करेन्ट लागेर एक महिलाको दुःखद निधन भएको छ। बाह्रदशी–२ निवासी ३५ वर्षीया सुनिता बास्कीको गएराति करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार, बास्कीले आफ्नै घरमा वाईफाईको प्लग जोड्ने क्रममा अचानक नाङ्गो तार छुँदा करेन्ट लागेको थियो। करेन्ट लागेलगत्तै उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरेको छ। शवलाई पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताउनुभयो।
पछिल्लो समय विद्युतीय उपकरणको प्रयोगमा सावधानी नअपनाउँदा यस्ता दुर्घटनाहरू बढ्दै गएका छन्।



