काठमाडौँ, २७ चैत । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २२०० रुपैयाँले बढेको हो।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ तोकेको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ८५ रुपैयाँले बढेर ४ हजार ९६० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८७५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण स्थानीय बजारमा मूल्य बढेको व्यवसायीहरूको भनाइ छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार ३०० अमेरिकी डलर र चाँदी प्रतिऔँस ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यसअघि गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार र चाँदी ५ हजार २५ रुपैयाँ पुगेर उच्च रेकर्ड कायम गरेको थियो।



