विराटनगर, ३० चैत ।
जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका ११ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान र दुईवटा अटो टेम्पो नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मिति २०८२ चैत २९ गते दिउँसो १:४० बजे र राती ११:२० बजेको समयमा विराटनगर महानगरपालिका वडा नं. ६ स्थित सडक खण्डमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो। भारतबाट भन्सार छली गरी ल्याइएका सामानहरू को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरका दुईवटा अटो टेम्पोमा लोड गरी विराटनगरतर्फ ल्याइँदै गरेको अवस्थामा फेला पारिएको मोरङ प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानहरूमा ठूलो परिमाणमा कुर्ता सुरुवाल, सल सेट, हाफ कुर्ता, लेडिज टप, सुतीका कपडा, बालबालिकाका लुगा र महिलाका म्याक्सी लगायतका तयारी पोसाकहरू रहेका छन्। साथै, हरियो मटर दाना १५० केजी र पुरुषका हाफ पाइन्ट समेत बरामद गरिएको छ।
प्रहरीले बरामद गरेका सामान र दुईवटा अटो टेम्पोको कुल अन्दाजी मूल्य ११,११,५५०/- (एघार लाख एघार हजार पाँच सय पचास) रुपैयाँ कायम गरिएको छ। नियन्त्रणमा लिइएका अटो टेम्पो र सामानहरूलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्र.ना.उ. लिलाराज लामिछानेले जानकारी दिनुभयो।



