काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज (शनिबार) देशका पहाडी तथा हिमाली भू-भागमा वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज बदली भई हल्का वर्षा हुने देखिएको छ।
दिउँसोको मौसम:
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत बाँकी पहाडी भेगमा आंशिक बदली रहे पनि अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ।
यसैबीच, मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज ‘तातो दिन’ (Heat Wave) हुने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
रातिको मौसम:
राति देशका हिमाली भू-भागमा बादल लाग्नेछ भने कोशी प्रदेशको पहाडी र तराई भेगमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा राति पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ।



