भद्रपुर, झापा । झापाको सुरक्षा व्यवस्थालाई लक्षित गरी जिल्लाका विभिन्न संवेदनशील स्थानहरूमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले विशेष चेकजाँच (Dog Sniffing) गरेको छ।
हिजो (२०८३ वैशाख ४ गते) कोशी प्रदेश प्रहरी कार्यालय केनाइन (K9) शाखा धरानबाट खटिएको विशेषज्ञ टोलीले झापाको बुधबारे र चन्द्रगढी विमानस्थलमा सघन खानतलासी गरेको हो।
सवारी साधन र यात्रुको लगेज चेकजाँच
बिहान ११:३० बजेको समयमा जिल्ला झापा बुधशान्ति गाउँपालिका–३ गोसलाईनस्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय बुधबारेको समन्वयमा चेकजाँच गरिएको थियो। सो क्रममा सडकमा गुड्ने साना-ठूला गरी ६६ वटा सवारी साधनहरूलाई तालिम प्राप्त कुकुरमार्फत ‘डग स्न्यापिङ’ गराइएको थियो।
त्यसैगरी, झापाको भद्रपुर नगरपालिका–८ स्थित चन्द्रगढी विमानस्थलमा पनि उच्च सुरक्षा सतर्कता अपनाउँदै चेकजाँच गरिएको छ। विमानस्थलमा आउने–जाने ११६ जना यात्रु र उनीहरूको लगेजहरूलाई केनाइन शाखाका २ वटा तालिम प्राप्त कुकुर प्रयोग गरी चेकजाँच गरिएको प्रहरीले जनाएको छ।
शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन र अवैध वस्तुको ओसारपसार नियन्त्रण गर्न संवेदनशील स्थानहरूमा यस किसिमको ‘डग स्निफिङ’ चेकजाँच गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



