सुनसरी, ५ वैशाख ।
सुनसरीको धरानमा ५९ किलो लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, आज बिहान ११:१० बजेको समयमा धरान उप-महानगरपालिका वडा नं. १३ आँपगाछीस्थित कोशी लोकमार्गमा जाँचका क्रममा उक्त गाँजा बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको BR 10 PB 2241 नम्बरको भारतीय स्कार्पियो गाडीलाई खानतलासी गरेको थियो।
प्रहरीका अनुसार गाँजा ओसार्नका लागि गाडीको सिटमुनि ‘फल्स बटम’ (लुकाउने विशेष ठाउँ) बनाइएको भेटिएको थियो। सोही ठाउँमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा ५९ किलो गाँजा फेला परेपछि गाडी र त्यसमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा:
१. भारत बिहार राज्य, सुपौल जिल्लाका २२ वर्षीय सुबोध कुमार
२. सोही स्थानका २२ वर्षीय रोहित कुमार
३. सोही स्थानका ४० वर्षीय मोहम्मद जमशेर
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक (सूचना अधिकारी) चन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ।



