27.1 C
Kathmandu
Monday, April 20, 2026
spot_img

पथरी शनिश्चरेमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु

पथरी शनिश्चरे, ६ वैशाख । मोरङको पथरी शनिश्चरे नगरपालिकाका १० वटै वडामा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ । नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियतामा आज सबै वडाहरूमा स्वास्थ्य क्याम्प खडा गरी बालबालिकालाई औषधि खुवाइएको हो ।

वैशाख ६ र ७ गते दुई दिनसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि (अल्बेन्डाजोल) खुवाइने कार्यक्रम रहेको छ ।

नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत जगत मगरका अनुसार, बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन र पोषणको अवस्था सुधार्न यो कार्यक्रम अत्यन्त प्रभावकारी रहेको छ । अभियानका क्रममा औषधि खुवाउनुका साथै बालभिटा वितरण र बालबालिकाको पोषणको अवस्थाबारे लेखाजोखा (MUAC Measurement) समेत भइरहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल सरकारले हरेक वर्ष दुई पटक (कात्तिक २ र ३ गते तथा वैशाख ६ र ७ गते) देशभर नै यो अभियान सञ्चालन गर्दै आएको छ । नगरपालिकाले आफ्ना नजिकैको वितरण केन्द्रमा लगेर लक्षित उमेर समूहका सबै बालबालिकालाई औषधि खुवाउन अभिभावकहरूलाई अनुरोध समेत गरेको छ ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार