बीपी राजमार्गमा बाढीको वितण्डा: अलपत्र यात्रुलाई काभ्रे प्रहरी र स्थानीयको सहारा

१३ वैशाख, भकुण्डेबेसी । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएपछि सयौँ यात्रुहरू अलपत्र परेका छन्। विपद्को यो घडीमा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र स्थानीय नागरिकहरूले मानवीय सेवाको उदाहरणीय कार्य गरेका छन्।


रोशी खोलामा आएको बहावका कारण चौकीडाँडा, मंगलटार, नार्के र कालढुङ्गा लगायतका कम्तीमा ८ स्थानमा निर्माण गरिएका अस्थायी डाइभर्सनहरू बाढीले बगाएको छ। सडक सञ्जाल विच्छेद भएपछि धुलिखेल, भकुण्डेबेसी र नेपालथोक क्षेत्रमा ठूलो संख्यामा सवारी साधन र यात्रुहरू रोकिएका छन्।


मंगलटार र चौकीडाँडा क्षेत्रमा सडक अवरुद्ध भएपछि बीच बाटोमै अड्किएका ठूलो संख्याका यात्रुहरूलाई प्रहरी टोलीले सुरक्षित रूपमा उद्धार गरेको छ। उनीहरूलाई जोखिमपूर्ण क्षेत्रबाट झोलुङ्गे पुल तार्दै र तेमाल क्षेत्रको वैकल्पिक कच्ची सडक प्रयोग गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।


सडकमा भोकै-प्यासै अलपत्र परेका यात्रुहरूलाई राहत दिन भकुण्डेबेसीका स्थानीय नागरिक र प्रहरी टोली सक्रिय भएका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले स्थानीय बासिन्दासँगको सहकार्यमा यात्रुहरूलाई फलफूल, खाजा र पिउने पानी वितरण गरेको छ। सडक कहिले खुल्छ भन्ने निश्चित नभएको अवस्थामा प्रहरी र नागरिकको यो सामूहिक सहयोगले यात्रुहरूलाई ठूलो राहत मिलेको छ।


सडक डिभिजन कार्यालयले बाटो मर्मत र नयाँ डाइभर्सन निर्माणको प्रयास थाले पनि मौसम प्रतिकुल रहेकाले तत्काल सडक सञ्चालन हुन कठिन देखिएको छ। प्रहरीले अत्यावश्यक काम बाहेक बीपी राजमार्गमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको ताजा अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार