१३ वैशाख, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, आदमघाटमा आज दिउँसो एउटा माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०२–००६ ख ७२२१ नम्बरको इभि माइक्रो बस अनियन्त्रित भई भित्तामा ठोक्किँदा दुर्घटना भएको हो। माइक्रोमा चालक र सहचालक सहित कूल १४ जना सवार थिए।
दुर्घटनामा घाइते भएका ८ जनालाई तत्काल इलाका प्रहरी कार्यालय गजुरी, अस्थायी प्रहरी पोष्ट आदमघाट र ट्राफिक प्रहरीको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो। घाइतेहरूलाई सुरुमा आदमघाट अस्पताल र धादिङ अस्पतालमा उपचार गरिएको थियो।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर रिफर गरिएको छ। अन्य ३ जना भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्।
ट्रमा सेन्टर रिफर गरिएका घाइतेहरू:
१. मनाली मगर (१४ वर्ष) – रोल्पा
२. रमिता खत्री (५५ वर्ष) – काठमाडौँ
३. अम्बिका मल्ल (३१ वर्ष) – म्याग्दी
४. प्रकाश मगर (सह-चालक, २४ वर्ष) – रसुवा
५. अन्जिता गुरुङ (२१ वर्ष) – गोरखा
दुर्घटनामा संलग्न माइक्रो बसका चालक, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का ४२ वर्षीय रत्न बहादुर महतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका कारण राजमार्गमा कुनै अवरोध नरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभएको छ।



