सुनसरी, २ वैशाख । जिल्ला प्रहरी कार्यालय सुनसरीले ठुलो परिमाणमा अवैध लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ६ पटवारीस्थित सप्तकोशी नदीमा बाँसको झ्याङमुनि लुकाएर गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बराहक्षेत्र-६ बस्ने २० वर्षीय बिशेष माझी र १८ वर्षीय रोशन श्रेष्ठ रहेका छन्।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले राति करिब २१:०० बजे सप्तकोशी नदीमा उत्तरबाट दक्षिणतर्फ बगाउँदै ल्याएको बाँसको झ्याङमा शंका लागि चेकजाँच गर्दा ९ वटा प्लास्टिकको बोरामा प्याक गरिएको २२५ केजी गाँजा फेला पारेको थियो।
प्रहरीका अनुसार अभियुक्तहरूले उक्त गाँजा बगाउँदै ल्याएर नदी किनारमा लुकाएर राखेको अवस्थामा फेला पारिएको हो। गाँजा ओसारपसारमा प्रयोग गरिएको को ३० प १४७५ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काद्वारा जारी विज्ञप्ति अनुसार पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको छ।



