विराटनगर, ३ वैशाख । मोरङ जिल्लामा सञ्चालित ‘ट्राफिक सचेतना तथा कारवाही अभियान’ अन्तर्गत विराटनगरको रानी क्षेत्रको पार्किङलाई व्यवस्थित गरिएको छ । विराटनगर महानगरपालिका वडा नं. १५ स्थित रानी ढाटमा लामो समयदेखि रहेको अव्यवस्थित सिटी सफारी पार्किङलाई मंगलबार ट्राफिक प्रहरीले व्यवस्थापन गरेको हो ।
रानी नाकाको मुख्य प्रवेशद्वारमै सफारीहरू जथाभाबी पार्किङ गर्दा सवारी आवागमनमा अवरोध हुनुका साथै सडक जामको समस्या बढ्दै गएको थियो । ट्राफिक प्रहरीले उक्त क्षेत्रमा निश्चित पार्किङ स्थल तोकी सफारीहरूलाई व्यवस्थित गरेपछि अहिले आवागमन सुचारु र सहज बनेको छ ।
अभियानका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूलाई कारवाही गर्नुका साथै सडक अनुशासनबारे सचेत समेत गराइएको छ । यो व्यवस्थापनले सीमा क्षेत्रको सवारी चाप कम गर्न र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।



