वीरगंज, ४ वैशाख । वीरगंज महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान तथा शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै भर्ना अभियान र कक्षा सञ्चालनको समयसीमा तोकेको हो।
महानगरपालिकाका नगर प्रमुखको आदेशानुसार जारी गरिएको उक्त सूचना अनुसार वैशाख ७ गतेदेखि वैशाख १५ गतेसम्म महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान सञ्चालन हुनेछ।
यस अवधिमा भर्नाका साथै विद्यार्थीहरूको अभिलेखीकरण, वार्षिक कार्यतालिका तथा वार्षिक कार्ययोजना निर्माण, शिक्षक क्षमता विकास कार्यक्रम र विद्यालय सुधार योजना (SIP) निर्माणका कार्यहरू सम्पन्न गर्नुपर्ने महाशाखाले जनाएको छ।
शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा हस्ताक्षरित सूचनामा नयाँ शैक्षिक सत्रको नियमित पठनपाठन भने वैशाख १६ गतेदेखि सुरु हुने उल्लेख छ। महानगरले सबै विद्यालयहरूलाई तोकिएको समयमै भर्ना अभियान सम्पन्न गरी नियमित कक्षा सञ्चालनको तयारी गर्न निर्देशन दिएको छ।
स्थानीय तहले समयमै शैक्षिक सत्रको तालिका सार्वजनिक गरेपछि अभिभावक र विद्यार्थीहरूलाई शैक्षिक योजना बनाउन सहज हुने विश्वास लिइएको छ।



