झापा, २५ वैशाख । झापाको गौरादह नगरपालिकाका कृषकहरू व्यावसायिक खर्बुजा खेतीतर्फ आकर्षित भएका छन्। पछिल्लो समय यहाँका कृषकहरूले उत्पादन गरेको ताजा, स्वादिष्ट र मुख्य कुरा ‘विषादीरहित’ खर्बुजाले स्थानीय बजारमा राम्रो चर्चा पाउन थालेको छ।
गौरादहका विभिन्न वडाका कृषकहरूले ठुलो क्षेत्रफलमा खर्बुजा खेती विस्तार गरेका छन्। बाह्य देश वा जिल्लाबाट आउने विषादीयुक्त फलफूलको विकल्पमा स्थानीय स्तरमै स्वस्थ खर्बुजा उत्पादन हुन थालेपछि उपभोक्ताहरू पनि खुसी भएका छन्।
सिधै कृषकसँग खरिद गर्न सकिने:
बिचौलिया रहित र सस्तो मूल्यमा ताजा खर्बुजा उपलब्ध गराउन कृषकहरूले सिधै उपभोक्तासँग समन्वय गरिरहेका छन्। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दा कृषकको आर्थिक अवस्था सुधार हुनुका साथै सुरक्षित खाद्य वस्तुको प्रयोगमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।
यदि तपाईँ पनि स्वस्थ र गुणस्तरीय खर्बुजाको खोजीमा हुनुहुन्छ भने गौरादहका कृषकहरूलाई सिधै सम्पर्क गरी खरिद गर्न सक्नुहुनेछ। स्थानीय उत्पादनको प्रयोग गरौँ, कृषकलाई हौसला प्रदान गरौँ।



