चितवन, २५ वैशाख । नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलाको भिरमा अड्किएका जोखिमपूर्ण ढुङ्गाहरू सुरक्षाकर्मीको टोलीले सफलतापूर्वक खसालेको छ ।
बिहीबार दिउँसो २:०० बजेदेखि साँझ ५:०० बजेसम्म बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौँडा र इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको संयुक्त प्रहरी टोलीले ती ढुङ्गाहरू हटाएको हो । ट्राफिक प्रहरीसहितको विशेष टोलीले सडकमाथिको भिरबाट खस्न लागेका ढुङ्गाहरूलाई तत्कालीन समाधानका लागि सुरक्षित रूपमा खसालेर हटाएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।
उक्त स्थानमा समय-समयमा माथिबाट ढुङ्गा खसिरहने र सवारी साधन तथा पैदलयात्रीलाई गम्भीर जोखिम हुने अवस्था सिर्जना भएपछि सुरक्षा निकायले यो कदम चालेको हो । ढुङ्गा खसाल्ने क्रममा केही समय सडक अवरुद्ध भए तापनि कार्य सम्पन्न भएलगत्तै सडक सुचारु गरिएको थियो ।
यो प्रयाससँगै तुइनखोला क्षेत्रमा ढुङ्गा खसेर हुन सक्ने सम्भावित दुर्घटनामा कमी आउने र यात्रुहरूले अलि सुरक्षित महसुस गर्ने अपेक्षा गरिएको छ।



