अन्तर्राष्ट्रिय, २५ वैशाख । विश्वभर अहिले फेरि नयाँ भाइरस ‘हन्टाभाइरस’ (Hantavirus) को त्रास फैलिएको छ। दक्षिण अमेरिकाको अर्जेन्टिनाबाट यात्रा सुरु गरेको एक विलासी क्रुज शिप (MV Hondius) मा रहेका यात्रुहरूमा यो संक्रमण देखिएपछि विश्वव्यापी सतर्कता अपनाइएको हो।
हालसम्म प्राप्त जानकारी अनुसार, उक्त जहाजमा सवार ३ जना यात्रुको मृत्यु भइसकेको छ भने ५ जनामा संक्रमणको पुष्टि भएको छ। संक्रमित मध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनको दक्षिण अफ्रिकामा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
के हो हन्टाभाइरस र कसरी सर्छ?
विशेषज्ञहरूका अनुसार हन्टाभाइरस मुख्यतया मुसाको दिसा, पिसाब वा र्यालको सम्पर्कबाट मानिसमा सर्ने गर्दछ। यो कोरोना भाइरस जस्तो मानिसबाट मानिसमा सजिलै नसर्ने भए तापनि संक्रमित मुसाको सम्पर्कमा आउँदा यो घातक हुन सक्छ। यसले फोक्सोमा गम्भीर समस्या (Hantavirus Pulmonary Syndrome) निम्त्याउने गर्दछ।
विश्वव्यापी सतर्कता र कन्ट्याक्ट ट्रेसिङ
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) ले यसलाई ‘लेभल ३’ को आपतकालीन अवस्था घोषणा गर्दै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। उक्त जहाजमा २३ भन्दा बढी देशका यात्रुहरू सवार रहेकाले बेलायत, स्पेन र अमेरिकासहितका देशहरूले आफ्ना नागरिकहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरेका छन्।
अहिले उक्त जहाज एटलान्टिक महासागरमा रोकिएको छ र सबै यात्रुहरूको विशेष स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको छ। विश्व स्वास्थ्य संगठन (WHO) ले यसबारे निगरानी राखिरहेको र तत्कालै यो महामारीको रूपमा नफैलिने बताएको छ।
