३१ वैशाख, झापा । झापाको बिर्तामोडबाट प्रहरीले अनलाइन सट्टाबाजीमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका वडा नं. १० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड नगरपालिका वडा नं. ६ का ३६ वर्षीय भुवन मेचे रहेका छन्। गिरीलाई बिर्तामोड-५ स्थित ‘Go 69 Cafe’ र मेचेलाई बिर्तामोड-४ स्थित ‘Red Hot Chilli’ बाट प्रहरीले नियन्त्रणमा लिएको हो।
यसरी हुन्थ्यो सट्टाबाजी
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले सर्वसाधारण नागरिकलाई प्रलोभनमा पारी हारजित हुने गरी ठुलो रकम अनलाइन सट्टाबाजीमा कारोबार गर्ने गरेका थिए। उनीहरूले ‘रविन गुरुङ’ लगायतका नामबाट १xbet र Mobcash जस्ता अनलाइन सट्टाबाजी खेलाउने एप्स प्रयोग गरी जुवा खेलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मोबाइल र सिमकार्ड बरामद, थप अनुसन्धान जारी
प्रहरीले उनीहरूको साथबाट अनलाइन सट्टाबाजीमा प्रयोग गरिएका विभिन्न ब्रान्डका ५ थान स्मार्टफोन र सिमकार्डहरू बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सट्टाबाजी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार उनीहरूमाथि अनलाइन सट्टाबाजी, ठगी र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) को कसुरमा समेत अनुसन्धान हुनेछ।
प्रहरीको अनुरोध: गोप्य विवरण सेयर नगर्नुहोस्
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्र.ना.उ. खगेन्द्र बहादुर खड्काले अनलाइन सट्टाबाजी र जुवामा संलग्न हुनु वा सहयोग गर्नु गम्भीर अपराध भएको बताउनुभएको छ। यस्ता कसुरबाट बच्न आफ्नो बैंक खाता, पिनकोड, र OTP (ओटिपी) जस्ता गोप्य विवरणहरू कसैलाई सेयर नगर्न प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।
