सुनसरी, २ जेष्ठ । जिल्ला प्रहरी कार्यालय सुनसरीले जबरजस्ती करणी मुद्दामा सजाय तोकिएका फरार कैदी प्रकाश दमाईसहित दुई जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई धरानका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार २०७९ साल पुस ५ गतेको सम्मानित सुनसरी जिल्ला अदालत इनरुवाको फैसलाले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद, २ लाख रुपैयाँ जरिवाना, १ लाख रुपैयाँ पीडित क्षतिपूर्ति र १२ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय सुनाएका धरान उप-महानगरपालिका वडा नं. १७ बस्ने वर्ष ३७ का प्रकाश दमाई पक्राउ परेका छन्। उनी ‘Gen-Z आन्दोलन’ को क्रममा कारागार कार्यालय झुम्का, सुनसरीबाट फरार भएका थिए। उनलाई जेष्ठ १ गते राति २०:०० बजे धरान-१७ पटनालीस्थित लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।
त्यसैगरी, ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका अर्का प्रतिवादी धरान उप-महानगरपालिका वडा नं. १५ बस्ने वर्ष २९ को ‘दाँते’ भन्ने गणेश राई पनि पक्राउ परेका छन्। उनलाई सुनसरी जिल्ला अदालतको २०७८ साल पुस २३ गतेको फैसलाले ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। राईलाई जेष्ठ १ गते बिहान ०९:३० बजे उनको आफ्नै घर वतनबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्मानित जिल्ला अदालत सुनसरीमा बुझाउने तयारी भइरहेको सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ।
