इलाममा अब हुलाक सेवामार्फत घरमै राहदानी पुग्ने, जिप्रका र जिल्ला हुलाक कार्यालयबीच सम्झौता

इलाम, ५ जेठ । जिल्ला प्रशासन कार्यालय इलामबाट जारी हुने राहदानी (पासपोर्ट) अब सेवाग्राहीको घरमै पुग्ने भएको छ। सरकारी सेवालाई थप सहज, छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, इलाम र जिल्ला हुलाक कार्यालय, इलामबीच यससम्बन्धी द्विपक्षीय समझदारी भएको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा गृह मन्त्रालयको निर्देशनबमोजिम दुई कार्यालयबीच सम्झौता भएसँगै यो व्यवस्था कार्यान्वयनमा आएको जिल्ला प्रशासन कार्यालय इलामले आज एक सूचना जारी गर्दै जनाएको छ।

नयाँ व्यवस्था अनुसार अब उप्रान्त राहदानीका लागि आवेदन दिने सेवाग्राहीले आवेदन फाराम भर्ने समयमै दुईवटा विकल्पमध्ये एक रोज्नुपर्नेछ। सेवाग्राहीले आफ्नो राहदानी हुलाक सेवामार्फत घरमै प्राप्त गर्ने वा कार्यालयमै स्वयं उपस्थित भई बुझिलिने भन्ने उपयुक्त विकल्प छनौट गर्न सक्नेछन्।

हुलाक सेवामार्फत घरमै राहदानी प्राप्त गर्न इच्छुक सेवाग्राहीले फाराम भर्दा आवश्यक विवरणहरू स्पष्ट रूपमा उल्लेख गरी सम्बन्धित कर्मचारीसमक्ष पेस गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ। यस विषयमा थप जानकारी लिन चाहनेले जिल्ला प्रशासन कार्यालय इलामको राहदानी शाखामा सम्पर्क गर्न सक्ने प्रशासनले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार