मेचीनगर, ५ जेठ । झापाको मेचीनगर नगरपालिकाले नगरभित्रका प्रमुख दुई खोलाहरूबाट नदीजन्य सामग्री उत्खनन र संकलन कार्यमा पूर्ण रोक लगाएको छ। चालू आर्थिक वर्ष २०८२/८३ का लागि मेची नदी/खोला र हडिया खोलाबाट उत्खनन गर्न अनुमति दिइएको परिमाण सकिएकाले नगरपालिकाले यस्तो निर्णय गरेको हो।
नगर कार्यपालिकाको कार्यालय, इटाभट्टाले सोमबार (जेठ ४ गते) एक सार्वजनिक सूचना जारी गर्दै आज जेठ ५ गतेदेखि लागू हुने गरी नदीजन्य पदार्थ उत्खनन र संकलन गर्न प्रतिबन्ध लगाएको जनाएको छ। प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदनले निर्धारण गरेबमोजिम अनुमति दिइएको सामग्रीको उत्खनन परिमाण सकिएकाले अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइएको हो।
नगरपालिकाका वातावरण अधिकृत अमन शेर्पाका अनुसार पूर्ण रूपमा बन्द गरिएका क्षेत्र र नाकाहरू यस प्रकार छन्:
१. मेची खोला: सालगाँडा पूर्व मेची बगर (M2), वडा नं. ०१
२. हडिया खोला: मेधा सिमेन्ट हडिया बगर (H3), वडा नं. १४ र १५
सूचना विपरीत यी नाकाहरूबाट लुकिछिपी नदीजन्य पदार्थ उत्खनन वा संकलन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी समेत नगरपालिकाले दिएको छ।
