काठमाडौँ । भन्सार विभागले आफ्नो ‘कस्टम्स भ्यालुएसन डेटाबेस सिस्टम’ (Customs Valuation Database System) मा अन्तर्राष्ट्रिय बजार मूल्य समेत हेर्न मिल्ने गरी नयाँ प्रणालीको विकास गरेको छ। अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेले मिति २०८३ जेठ ११ गते सोमबारदेखि लागू हुने गरी सो प्रणालीको शुभारम्भ गर्नुभएको हो।
नयाँ प्रणालीको शुभारम्भ गर्दै अर्थमन्त्री वाग्लेले यसको कार्यान्वयनपछि अन्तर्राष्ट्रिय व्यापार थप सहज हुने विश्वास व्यक्त गर्नुभयो। साथै, यसले भन्सार मूल्याङ्कन प्रणालीलाई अझ बढी पारदर्शी, विश्वसनीय र यथार्थपरक बनाउने कुरामा उहाँले जोड दिनुभयो।
उक्त उद्घाटन कार्यक्रममा अर्थ मन्त्रालयका सचिव, सचिव (राजस्व), राजस्व व्यवस्थापन महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, उप-महानिर्देशक, एसियाली विकास बैंकका परामर्शदाता तथा भन्सार विभागका सम्बन्धित कर्मचारीहरूको उपस्थिति रहेको थियो।
विराटनगरबाट सुरु भएको थियो प्रणाली
भन्सार विभागले यसअघि मिति २०८२ साल असोज ८ गते विराटनगर भन्सार कार्यालयबाट पहिलोपटक ‘कस्टम्स भ्यालुएसन डेटाबेस सिस्टम’ को कार्यान्वयन सुरु गरेको थियो। त्यसपछि परिमार्जित गर्दै मिति २०८२ साल पुस १८ गतेदेखि आसिकुडा (ASYCUDA) प्रणाली कार्यान्वयनमा रहेका देशका सम्पूर्ण भन्सार कार्यालयहरूमा यो प्रणाली पूर्ण रूपमा लागू गरिएको विभागले जनाएको छ।
ग्याट (GATT) सम्झौता पूर्ण कार्यान्वयनमा सहयोग पुग्ने
यो नयाँ प्रणालीको सुरुवात भएसँगै भन्सार प्रशासनलाई विश्व व्यापार सङ्गठन (WTO) को मूल्याङ्कन सम्बन्धी सम्झौता (GATT Valuation) लाई पूर्ण रूपमा कार्यान्वयन गर्न ठूलो मद्दत पुग्नेछ। यसका साथै विदेशबाट पैठारी (आयात) हुने वस्तुहरूको वास्तविक कारोबार मूल्य निर्धारण गर्ने कार्यमा समेत यसले विशेष सहयोग पुर्याउने भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



