नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौँ, जेठ १२ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक र देखिने गरी सुधार ल्याउन आफू नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत र काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उहाँले सो कुरा बताउनुभएको हो। भेटका क्रममा प्रधानमन्त्री शाहले वर्तमान समयको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको सरकारले पूर्ण रूपमा बोध गरिरहेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार उक्त भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक र आर्थिक अवस्थाबारे फलदायी छलफल भएको थियो। सो अवसरमा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचनको परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको स्पष्ट पार्नुभयो। उहाँले नयाँ सरकार गठन भए तापनि देशको नीतिगत निरन्तरतामा कुनै असर नपर्ने र यसलाई निरन्तरता दिइने कुरामा विदेशी कूटनीतिज्ञहरूलाई आश्वस्त पार्नुभयो।

प्रधानमन्त्री शाहले भन्नुभयो, “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ।” उहाँले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि वर्तमान सरकार दृढताका साथ अघि बढ्ने कुरा दोहोऱ्याउनुभयो।

बाह्य लगानी र सन्तुलित विदेश नीति
जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको स्पष्ट पार्दै प्रधानमन्त्री शाहले बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै लगिने बताउनुभयो। उहाँले सरकार नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो। “हाम्रा छिमेकी, विकास साझेदार र मित्रराष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ,” उहाँले भन्नुभयो। उहाँले नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्‍याउँदै आएको भन्दै नेपालका सबै विकास साझेदार र मित्रराष्ट्रहरूप्रति आभार समेत प्रकट गर्नुभयो। साथै, उहाँले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रहरूमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको स्पष्ट पार्नुभयो।

विश्व शान्ति र कूटनीतिमा जोड
भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढी पीडा भोग्नुपरेको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा विशेष जोड दिनुभयो।

विदेशी राजदूतहरूद्वारा बधाई तथा प्रशंसा
भेटमा काठमाडौँ र नयाँदिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँस्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गर्नुभएको थियो। साथै, उहाँहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्वमा पुग्नुभएकोमा प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको थियो। उहाँहरूले नेपालको आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्य तथा लगानी गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार