अर्जुनधारा ।।शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुँदैन भन्ने सन्देशलाई आत्मसात् गर्दै अर्जुनधारा ९ स्थित सृजना शिशु सदन अंग्रेजी विद्यालयले आफ्नो गौरवपूर्ण शैक्षिक यात्राको ३४ वर्ष पूरा गरेको अवसरमा आगामी फागुन ९ गते, शनिबार भव्य वार्षिकोत्सव समारोह आयोजना गर्ने भएको छ। विद्यालयकै प्राङ्गणमा हुने उक्त कार्यक्रम बिहान ठीक १० बजे सुरु हुनेछ।तीन दशकभन्दा बढी समयदेखि गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारमा आधारित शिक्षण प्रदान गर्दै आएको सृजना शिशु सदन आज क्षेत्रकै एक प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित छ। वार्षिकोत्सव समारोहले विद्यालयको शैक्षिक उपलब्धि, विद्यार्थीको सिर्जनशीलता र समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिएको विद्यालयका प्रिन्सिपल विशाल कुमार बुढाथोकीले बताउनु भएको छ।उँहाका अनुसार कार्यक्रमको मुख्य आकर्षण विद्यालयका विद्यार्थीहरूको बहुआयामिक प्रस्तुति रहनेछ। नृत्य, गायन,सन्देश मुलक नाटक लगायत विविध सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्। कार्यक्रमले विद्यार्थीहरुलाई अझ सशक्त र प्रभावशाली बनाउने उहाको विश्वास छ। कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै अभिभावकहरूलाई आफ्ना बालबालिकाको क्षमताको प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्नेछ।वार्षिकोत्सव समारोहको विशेष आकर्षण का रूपमा नेपाली संगीत क्षेत्रमा लोकप्रिय गायक प्रितम आचार्यको विशेष सांगीतिक प्रस्तुति रहनेछ। सानै उमेरमा दर्शक–श्रोताको मन जित्न सफल उनको प्रस्तुतीले समारोहमा थप ऊर्जा र उल्लास भरिने अपेक्षा गरिएको छ। उनका चर्चित गीतहरूमा विद्यार्थी तथा दर्शकहरू झुम्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।यसै अवसरमा वार्षिक खेलकुद २०८२को पुरस्कार वितरण त्यसैगरी अन्तराष्ट्रि ,राष्ट्रिस्तरका , जिल्ला तथा पालिका स्तरका विभिन्न खेलकुद तथा सांगीतिक कार्यक्रमका विजेता विद्यार्थीहरु तथा प्रशिक्षक सम्मान त्यसैगरी २०८१ सालका वार्षिक परिक्षमा प्रथम दोस्रो तेस्रोहुने विद्यार्थी सम्मान र अभिभावक सम्मानका कार्यक्रमहरुसमेत रहेको आयोजकले जनाएको छ।विद्यालय प्रशासनले वार्षिकोत्सव केवल उत्सव मात्र नभई विद्यार्थी, अभिभावक, शिक्षक र समाजबीचको सम्बन्ध सुदृढ बनाउने साझा मञ्च भएको बताएको छ। “आजका विद्यार्थी नै भोलिका कर्णधार हुन्, उनीहरूको प्रतिभा उजागर गर्नु हाम्रो दायित्व हो,” विद्यालय परिवारको भनाइ छ।विद्यालयले सम्पूर्ण अभिभावक, पूर्वविद्यार्थी, शिक्षा प्रेमी तथा संगीतप्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई विद्यार्थीहरूको उत्साह बढाइदिन र यस ऐतिहासिक क्षणको साक्षी बन्न हार्दिक अनुरोध गरेको छ।



