काभ्रेपलाञ्चोक, १३ चैत । आज साँझ परेको अविरल वर्षाका कारण बिपी राजमार्ग अन्तर्गत भकुण्डे–नेपालथोक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । साँझ ६ बजेदेखि रोशी गाउँपालिकाका विभिन्न स्थानमा आएको लेदोसहितको बाढी र पहिरोले यातायात सेवा ठप्प बनाएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटार क्षेत्रमा खहरे खोलाको बहाव बढेको छ । ती स्थानहरूमा बाढी र पहिरो थुप्रिएका कारण सवारी साधन सञ्चालन हुन सकेका छैनन् । गत वर्षको बाढीले सडक क्षतिग्रस्त पारेपछि सो क्षेत्रमा खोलाको किनारबाट अस्थायी ट्र्याक बनाएर गाडी चलाइँदै आएको थियो, जुन अहिलेको वर्षाले पुनः प्रभावित भएको हो ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार सडक विभाग, नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छ्याउने कार्य जारी छ । तर, तीव्र हावाहुरी र निरन्तरको वर्षाले गर्दा काममा निकै कठिनाइ भइरहेको छ ।
सवारी साधन ठाउँ-ठाउँमा रोकिए
सडक अवरुद्ध भएपछि सुरक्षाका दृष्टिले ट्राफिक प्रहरीले सवारी साधनहरूलाई सुरक्षित स्थानमा ‘होल्ड’ गराएको छ । धुलिखेलको काभ्रेभन्ज्याङ, भकुण्डे तथा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेका सवारीलाई नेपालथोक र मङ्गलटारमै रोकेर राखिएको छ ।
यसअघि चैत ७ गते पनि सोही क्षेत्रको चारसयबेंसी, गिम्दी र दाउन्ने खण्डमा बाढी आउँदा ६ घण्टासम्म यातायात अवरुद्ध भएको थियो । पानीको बहाव घटेर सडक मर्मत गरेपछि मात्र यातायात सुचारु हुने प्रहरीले जनाएको छ ।



